१ असार, काठमाडौं । हिमानी ट्रस्टले कोरोनाभाइरस महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई पिपिईलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ।
काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टले जनाएको छ। ट्रस्टले बिहीबार आठौं चरणको राहत वितरण गरेको हो।
जसअनुसार काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको होस्टलमा बसोबास गर्ने ५० विद्यार्थीलाई ४० बोरा चामल र २ बोरा दाल, चितवनका ६० घरपरिवार चेपाङ समुदायलाई ६० बोरा चामल र ६ बोरा दाल, कञ्चनपुर, गोरखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकास्थित क्वारेन्टिनमा फिल्टरसहित झुल वितरण गरिएको कोषले जानकारी दिएको छ।
कोषकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले कोरोना महामारीमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी लगायतलाई ट्रस्टले सहयोग गरेको जानकारी दिइन्। उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहबाट ट्रस्टमार्फत् सरकारलाई कोरोना कोषका लागि २ करोड नगद पनि सहयोग भएको छ।
काठमाडौंका फलफूल तथा तरकारी व्यापारी १५ सय जनालाई मास्कलगायत सामग्री कोषले दिएको पनि शाहले बताइन्। प्रदेशअन्तर्गत विभिन्न जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री ट्रस्टले उपलब्ध गराएको उनले जानकारी दिइन्।
त्यसैगरी बिभिन्न प्रदेशका क्वारेन्टिन र आइसोलेशनमा रहेकाहरुका लागि हिमानी ट्रष्टले सहयोगार्थ सामग्री उपलब्ध गरेको छ । ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो ।
अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले देशका बिभिन्न स्थानको क्वारेन्टिन र आइसोलेशन तथा केही विद्यालयहरुलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् । राहत सामग्रीमा झुल, पानी फिल्टर गर्ने मसिनलगायत सामग्री रहेका छन् ।
अध्यक्ष शाहले ट्रष्टले प्रधानमन्त्री कोरोना उपचार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको जानकारी गराउनुहुँदै संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।