१ साउन, एजेन्सी । ताइवानमा एक सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । बिहीबार एयर फोर्स बेसमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।
ओएच-५८ डी हेलिकप्टर हासिन्चिउमा रहेको सैनिक बेसमा जारी वार्षिक सैन्य अभ्यासका क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा घाइते भएका दुबै पाइलटलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा डाक्टरले उनीहरूलाई मृत घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
ताइवानी राष्ट्रपति साई इङ वेनले घटनाप्रति दुस्ख व्यक्त गर्दै सैनिकको लागि ठूलो घाटा भएको बताएकी छिन् । उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिने वाचा गरेकी छिन् ।
बिहीबार बिहान राष्ट्रपति साईले सैन्य अभ्यासको निरीक्षण गरेकी थिइन्। अमेरिकामा बनेको ओएच-५८ डी हेलिकप्टर ताइवानमा तेस्रो पटक दुर्घटनामा परेको हो । तर यसअघिका दुर्घटनामा मानवीय क्षति भएको थिएन ।
