५ साउन, काठमाडौं । भारतमा कोरोना भाइरसबाट २४ घण्टामा अहिलेसम्मकै धेरै एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमति थपिएका छन् भने ६ सय ८१ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा अहिलेसम्मकै उच्च ४० हजार ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।
त्यससँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरूले जनाएका छन्।
भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४५५ जना संक्रमित भएका छन्। त्यसपछि तमिलनाडु र दिल्लीमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ। (रासस/एएनआई)