७ साउन, पाल्पा ।
आज विहानैदेखि वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग लगायत रामपुर हुँदै पूर्व नवलपरासी जाने सडक अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत लामीडाँडा, पालेपिपल, दोभानको नागमन्दिर, पैठेडाँडा, कालीमाटी, गौडेपुललगायतका स्थानमा पहिरो खसेको छ । राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
सिद्धार्थ राजमार्गको गौडेपुलनजिकै असार अन्तिम सातादेखि खस्न सुरु भएको पहिरो अझै रोकिएको छैन भने दोभानमा ढुंगा र हिलोसहितको पहिरो खसेको छ ।
पाल्पाको रम्भा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा ठूलो पहिरो खसेर सवारी साधन चल्न सकेको छैन । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
वर्षाले पाल्पाको सम्मोबारी, बन्दीपोखरा, दोभान, रामपुर, रम्भालगायतका स्थानमा पहिरो खसेर ४० बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।