८ साउन,विराटनगर ।
विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम)मा चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । बुधबार पहिचान लुकाईएको भनिएका संक्रमितको पहिचान बिहीबार अस्पतालले खुलाएपछि सिल गरिएको हो ।
विराटले पहिचान लुकाएर स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोशीको ल्याबले दिएको रिपोर्ट विराटले लुकाएपछि बुधबारदेखि मोरङ प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलिले सङ्क्रमितको खोजी गरेका थिए ।
मोरङ प्रहरीले बुधबार साँझदेखि नै अस्पतालभित्रैका सदस्य भएको हुनसक्ने आशङ्का गर्दै अनुसन्धान सुरु गरेकोमा बिहीबार अस्पतालले प्रशासनले सङ्क्रमितको पहिचान खुलाएको थियो ।
तत्पश्चात जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले तत्काल अस्पताल सिल गर्ने निर्णय गरेको हो । अहिले अस्पतालक अनिश्चित कालका लागि सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।