९ साउन, काठमाडौं । चीनले अमेरिकामाथि जवाफी कारबाहीस्वरुप चंगडुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयले यही हप्ता अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ दूतावास बन्द गर्ने फैसालाको विरुद्ध यो आवश्यक र वैध प्रतिक्रिया भएको जनाएको छ ।
बीबीसीका अनुसार चंगडुमा सन् १९८५ मा अमेरिकी महावाणिज्य दूतावास बनाइएको थियो र जहाँ दुई सयभन्दा धेरैले काम गर्छन् । यो दूतावास तिब्बत नजिक भएकोले यो रणनीतिक रुपमा पनि महत्त्वपूर्ण थियो ।
यसैबीच अमेरिकाले भिसा ठगीको मामिलामा तीन जना चिनियाँ नागरिकलाई गिरफ्तार गरेको छ र चौथो चिनियाँ नागरिकलाई पनि गिरफ्तार गर्ने तयारी भइरहेको बीबीसीमा उल्लेख छ ।
चौथो व्यक्ति महिला भएको र सन फ्रान्सिस्कोमा रहेको चिनियाँ वाणिज्य दूतावाससँग सम्बन्धित भएको बताइएको छ । अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाको सदस्य भएको भन्दै झुट बोलेका थिए ।
चीन र अमेरिकाबीच विभिन्न मुद्दालाई लिएर विवाद कायमै छ । ट्रम्प प्रशासनको चीनसँग व्यापारदेखि लिएर कोरोना भाइरसको विषयमा कैयौँ पटक वाकयुद्ध भइसकेको छ । साथै अमेरिकाले हङकङमा विवादित सुरक्षा कानुन लागू गरेकोप्रति कडा आपत्ति जनाएको थियो ।
