नेपालमा समुदायस्तरमा कोरोना परीक्षण नगरिए संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

१२ साउन, काठमाडौं । केही जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ ।

भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाण्डौ उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले ’मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन् ।

सरकारले सुरुमा प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

त्यति सङ्ख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए।

तर सरकारी अधिकारीहरूले भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् ।

सरकारले करिब ४५ हजारको मास टेस्टिङ गर्ने भन्दै काठमाण्डौमा परीक्षण थालेको थियो। काठमाण्डौमा ५ हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ।

काठमाण्डौ प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले बताए ।

उनले भने, “काठमाण्डू प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौँ।“

“जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौँ।“

उनका अनुसार प्राथमिकतामा राखिएका क्षेत्रहरूमा काठमाण्डू, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन्।

कतिपय स्थानीय निकायले सङ्क्रमितको सङ्ख्या बढेको भन्दै सूचना जारी गरेका छन्।

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले पनि नगरभित्र सामुदायिक रुपमा सङ्क्रमण फैलिन सक्ने भन्दै सोमवारदेखि अति आवश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द गरेको छ।

वीरगञ्जमा पछिल्ला दिनमा सङ्क्रमण व्यापक फैलिएको डा. मरासिनीले बताए।

उनले भने, “वीरगञ्जमा सबैजसो अस्पतालमा सङक्रमण देखिएर बन्द हुन थालिसके। अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।“

“अब हामीले दैनिक १० हजारको सङ्ख्यामा परीक्षण गरेनौँ भने अवस्था नियन्त्रण गर्नै नसक्ने भएर जान्छ।“ (बीबीसी)

Scroll to Top