१७ साउन, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छिन् ।
बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बीहरुलाई शनिबार शुभकामना सन्देश दिँदै राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् । उनले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
बकर ईद इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व र यसमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाइन्छ । राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ– ‘बकर ईद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्य मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् ।’
मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिले लिएकी छिन् ।
