मकवानपुरमा केही स्थानमा निषेधाज्ञा जारी, जनकपुरमा एक हप्ता थपियो

२६ साउन ७७, सोमबार

२६ साउन, हेटौंडा ।
कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ।

Advertisement

आज राति १२ बजेदेखि लागू हुनेगरी हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञा साउन मसान्त राति १२ बजेसम्म कायम रहनेछ। मकवानपुरमा हिजो मात्रै २३ जना संक्रमित थपिएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

Advertisement

यसैबीच, आफ्ना कर्मचारीको परिवारमा कोरोना संक्रमण देखिएपछि मकवानपुरको बकैया गाउँपालिका कार्यालयले सेवा बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए।

यस्तै, सप्तरीमा निषेधाज्ञाको अवधि बढाइएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको हिजो सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनःएक साताका लागि थप गर्ने निर्णय गरेको हो।

Advertisement

यसअघि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सकिने र कोरोनाको जोखिम कायमै रहेकाले भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए।

त्यस्तै, जनकपुरमा पनि निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

यसअघि जारी गरिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएपछि हिजो बसेको सुरक्षा समितिको बैठकले साउन ३२ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top