२७ साउन, एजेन्सी।
कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।
जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो । विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड दुई लाख ५६ हजार रहेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ९३७ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ३१ लाखभन्दा बढी निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ५२ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन् ।
त्यस्तै अमेरिकामा एक लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २७ लाख १५ हजार रहेको छ । त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३० लाख ५७ हजार संक्रमित भएका छन् भने एक लाख एक हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये २१ लाख ६३ भन्दा बढि निको भएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ६९ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३ सय ६१ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् ।
चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख पुगेको छ । रुसमा कोरोना संक्रमणबाट १५ हजार जनाको मृत्यु भएको छ । रुसमा करिब ७ लाख संक्रमित निको भएका छन् ।
विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।