२९ साउन, कपिलवस्तु ।
कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना डाक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
साउन २६ गते अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । त्यस्तै काउन्टर र प्रशासन फाँटका कर्मचारी पनि संक्रमित भएका छन् ।
६० जनाको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरुको पीसीआर परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो ।
यसअघि साउन २५ गते अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । त्यसपछि २६ गतेबाट अस्पताल सिल गरिएको थियो । इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको थियो । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।