आज बेलुका पाटनमा हुने भिमसेन महाराजको जात्रा स्थगित

२९ साउन ७७, बिहीबार

२९ साउन, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहीबार बेलुका पाटनमा हुने भिमसेन महाराजको जात्रा स्थगित गरिएको छ ।

Advertisement

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भिमसेन महाराजको जात्रा मनाउने परम्परा रहेको छ । पाटन दरबार क्षेत्रस्थित ऐहिासिक भिमसेन मन्दिरको सबैभन्दा माथिल्लो तल्लामा रहेको भिमसेनको मूर्तिलाई श्रृगार गरी धातुको बिशेष खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ । जात्रामा प्रयोग हुने धातुको खट पनि अरु जात्रामा प्रयोग हुने खट भन्दा फरक छ ।

यस वर्ष भिमसेन जात्रा नमनाउने निर्णय गरिएको मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानुराजा श्रेष्ठले जानकारी दिए । ‘काठमाडौं उपत्यकाका अरु जिल्लासंगै ललितपुरमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ । कतिको मृत्यू भइसकेको छ ।’ यसले गर्दा नगरको प्रसिद्ध एवं उपत्यकाका रोमाञ्चकारी भिमसेन महाराज जात्रा नमनाउने निर्णय गरेका हौं ।’ उपाध्यक्ष श्रेष्ठले भने ।

Advertisement

यो जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रुपमा लिइन्छ । भिमसेन महाराजको जात्रा मंगलबजारबाट शुरु हुने गर्दछ ।

त्यसपछि हःखा, सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल बगलामुखी, कोबहाल, स्वठँ हुँदै मंगलबजार पुगेर समापन हुने गर्दछ । बासनादार धुप बालेर प्रत्येक टोलबासीले विशेष महत्व राखेर भिमसेनलाई स्वागत गर्छन् ।

Advertisement

यस जात्रालाई नेपाल भाषामा भिंद्यः जात्रा पनि भनिन्छ । भिंद्यःअर्थात असल देवता। नेपाल भाषामा ‘भिं’ भनेको असल र राम्रो र ‘द्यः’ भनेको देवता हो। धेरैले भिंद्यः र भीमसेनलाई एउटै माने पनि यी दुवै एकै देवता नभएको संस्कृतविद् ओम धौभडेल बताए ।

संस्कृतिविद् धौभडेलले भने ‘नेवारहरुले पूजा गर्ने देवता भीमसेन नभएर भिंद्यः हो। भिंद्यःको कुनै आकृति नहुने भएकाले महाभारतको भीमसेनलाई नै कालान्तरमा भिंद्यः मानिएको हो।’

अहिले पनि पुराना भिमसेन मन्दिरहरुमा राखिएको देवताको आकृति हुँदैन। त्यहाँ ढुङ्गामात्र राखिएको हुन्छ । उदाहरणको रुपमा दोलखाको भिमसेन मन्दिरलाई लिन सकिने धौभडेलले बताए ।

भिंद्यःको आकृति खोज्ने क्रममा पाटनका राजा श्रीनिवास मल्लले कलाकारहरुलाई भिमसेनको आकृति बनाउन सुझाव दिएका थिए । श्रीनिवास राजा सिद्धिनरसिंह मल्लका छोरा हुन् । तर कलाकारले उक्त रुप बनाउन असमर्थ हुँदा श्रीनिवास निकै क्रोधित भएछन् ।

त्यही क्रोधित अर्थात रौद्र मुद्रालाई कलाकारहरुले भिमसेनको अवतारको रुपमा उतारेको धौभडेलले बताए । पाटनको भिमसेन मन्दिरमा स्थापना गरिएको मूर्ति तिनै राजाको रौद्र रुप मानिन्छ । नेवाः समुदायले यस देवतालाई शुभ र शक्तिको प्रतिक मान्दै आएका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top