नेकपा सचिवालय बैठक भोलि सोमबार बस्ने

नेकपा सचिवालय बैठक भोलि सोमबार बस्ने

३२ साउन, काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबारका लागि डाकिएको छ ।

समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

यसअघि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।

पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क थियो।

साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन। साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए। बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए।

त्यसयता नेकपाभित्रको विवाद थप चर्किँदै गएको छ। साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए। बैठकमा ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्य उपस्थित थिए।

शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.