१ भाद्र, भक्तपुर ।
भक्तपुर नगरपालिकाले आजबाट नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाई गर्ने भएको छ।
बाहिरबाट मानिसहरु निर्वाध रुपमा प्रवेश गर्दा कोभिड १९ को संक्रमण नियन्त्रणमा समस्या हुने भन्दै नगरपालिकाले नगर प्रवेश गर्नेहरुको विवरण संकलन गर्न लागेको हो। आजबाट आवश्यक निगरानीको लागि नाकाहरुमा नगरपालिकाका कर्मचारीहरु समेत खट्ने भएका छन्।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको एक बैठकमा नगर प्रवेश गर्ने नाकाहरुमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरुको विवरण संकलन र आवश्यक निगरानी गर्ने निर्णय गरिएको थियो। विश्वभर फैलिरहेको कोरोना संक्रमणको नियन्त्रणमा संसारका शक्तिशाली देशहरु नै पछि परेको भन्दै नगर प्रमुख प्रजापतिले नेपालमा भयावह अवस्थामा महामारी फैलिन अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने बताए।
भक्तपुरमा पनि संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नागरिकहरुको जीवन रक्षाको लागि सबै किसिमका उपाय अपनाउने उनले बताए। हाल बाहिरबाट आउने मानिसहरुमा संक्रमण देखिएको सन्दर्भमा नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाईका साथ निगरानी गर्न र आवश्यक सतर्कता अपनाउने कार्यहरु आजबाट सुरु भएको उनले बताए।
भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरु, सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी रहेको छ। आजबाट यहाँ भक्तपुर नगरपालिकाका कर्मचारीहरु खट्ने छन्।