३ भाद्र, बझाङ ।
बाजुराका विभिन्न ठाउँमा मंगलबार राति वर्षापछि आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् ।
राति सुतेको बेलामा घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए । बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ । धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरिक्षत स्थानमा सरेका छन् ।
मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले बाजुरामा बाढीपहिरोबाट भएको क्षतिको अनुगमन गरेका थिए ।