७ भदौ, एजेन्सी । पाकिस्तानले अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई वित्तिय प्रतिबन्ध लगाएको छ।
अगस्ट १८ मा सूचना जारी गर्दै दाउद इब्राहिमसँगै आतंकवादी समूहका ८८ सदस्यलाई प्रतिबन्ध लगाएको छ।
दाउदसँगै जमात उद दावा प्रमुख हाजिफ सइद, जैस ए मोहम्मद प्रमुख मसुद अजहर, तालिबान नेता जलाउद्दिन हक्वानी, खालिल अहमद हक्वानी, पाक–अफगान सीमामा रहेका तेहरिक ए तालिबान पाकिस्तानका सबै सदस्यहरुलाई पनि प्रतिबन्ध लगाइएको छ।
पाकिस्तानी विदेश मन्त्रालयले हालै जारी सूचनामा संयुक्त राष्ट्र सुरक्षा परिषदले यात्रा तथा आर्थिक गतिविधिमा प्रतिबन्ध लगाएका संगठन र व्यक्तिको सम्पत्ति, बैंक खाता बिना सूचना जफत गर्न आदेश दिएको छ।
पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्सले सन् २०१८ मा पाकिस्तानलाई ग्रे लिस्टमा समावेश गर्दै प्रतिबन्धित व्यक्तिलाई सन् २०१९ सम्म पाकिस्तानले कारबाही गर्नुपर्ने बताएको थियो। तर कोरोना भाइरसको महामारी पछि यसको म्याद थपिएको थियो।
अन्तर्राष्ट्रिय दबाव र ग्रे लिस्टबाट हट्नका लागि पाकिस्तानले आतंकवादी समूहलाई प्रतिबन्ध लगाएको हो।
पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको लिस्टमा सन् १९९३ मा मुम्बई बमब्लास्टका मास्टरमाइन्ड दाउद इब्राहिमको ठेगाना क्लिफ्टनको व्हाइट हाउस भनेर उल्लेख गरेको छ।
दाउदको अन्य दुई स्थान हाउजिंग अथोरिटी कराँची र कराँचीकै पहाडी क्षेत्र नुराबादमा रहेको प्यालेसियल बंगलालाई पनि प्रतिबन्धित सूचीमा समावेश गरिएको छ।
भारतले लामो समयदेखि दाउद पाकिस्तानमा बसिरहेको दाबी गरे पनि पाकिस्तानले अस्वीकार गर्र्दै आएको थियो। यो प्रतिबन्धसँगै दाउद पाकिस्तानमा नै रहेको पुष्टि भएको छ।
पाकिस्तानले प्रतिबन्ध लगाएका समूहहरू युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिलको आतंकवादी सूचीमा राखिएको छ।