८ भदौ, विराटनगर ।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईतबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । विराटनगर महानगरपालिकाले स्थापना गरेको वडा नं. १९ को बैजनाथपुरस्थित आइसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या आएपछि कोशीको कोभिड उपचार केन्द्र लगिएकोमा अस्पताल र्पुयाएको केहीबेरमा नै मृत्यु भएको कोभिड १९ अस्पतालका व्यवस्थापन संयोजक ज्ञानबहादु बस्नेतले जानकारी दिए ।
मृतकको शव मोरङको थलाहा स्थित नेपाली सेनाको सुर्य दल गण शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने बताइएको छ । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ ।
यो सँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।१ सय ६७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।