×

NEPAL TIMES UPDATES

Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026

सुदूरपश्चिममा यसपालि छैन गौराको चहलपहल

९ भाद्र २०७७

९ भदाै, डोटी ।

डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा यहाँको प्रसिद्ध पर्व गौरा पर्व शुरु भए पनि अन्य वर्षजस्तो कुनै चलहपहल देखिएको छैन । जिल्लाका जोरायल, पूर्वीचौकी, केआइसिंह गाउँपालिका, शिखरन गाउँपालिकाका विभिन्न वडामा वर्षमा गौरासम्बन्धी विभिन्न प्रतियोगिता हुँदै आए पनि योवर्ष कोरोना महामारीको त्रासका कारण कुनै पनि प्रतियोगिता आयोजना गरिएको छैन ।

Advertisement
Advertisement

यहाँका गाउँघरमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कायमै रहेका कारण पनि अहिले गौरा पर्वको रौनकले खासै नछोएको हो । गौरा पर्व मनाउन विगतका वर्षमा जिल्ला तथा देशबाहिर गएका यहाँका स्थानीयवासी आ–आफ्ना घर फर्किने गरे पनि यो वर्ष कोरोनाको कहरले उनीहरु फर्किन पनि पाएनन् । गाउँघरमा आएका पनि आफ्नै घरमा बसेका छन्, बाहिर निस्किएका छैनन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीका गाउँघरमा अहिले गौरा पर्व शुरु भए पनि खासै चहलपहल नभएको जोरायल गाउँपालिकाका वडा नं ५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताए । उनले भने– “गाउँमा गौरा पर्व शुरु भएको छ तर कोरोनाको डरले खासै कुनै चहलपहल छैन, यो वर्ष पहिलेको जस्तो गौरा होलाजस्तो छैन ।”

सुदूरपश्चिमको प्रमुख सांस्कृतिक तथा आफ्नै मौलिक परम्परा बोकेको पर्व गौरा मनाउन विगतका वर्षमा घर फर्किनेहरुका कारण तराईबाट पहाड आउने गाडीहरु प्रायः भरिभराउ हुने गरेको भए पनि यो वर्ष सुनसान अवस्थामा रहेको सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख ट्राफिक प्रहरी पोष्ट बुडरका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए । उनले भने, “विगतका वर्षमा गौरा पर्व मनाउन आउनेका कारण सबैजसो गाडी भरिभराउ देखिन्थे यो वर्ष कोरोनाले यातायत बन्द छ, यहाँका बजारमा पनि गौरा पर्वको कुनै रौनक छैन ।”

गौराको कुनै चहलपहल नभएपछि अहिले गौरा पर्वकै लागि लुगा किन्नेहरु पनि कोही नआउने गरेको दिपायल पिपल्लामा रहेको दिल फ्रेन्सीका व्यापारी दिलबहादुर विष्टले बताए । उनले भने, “गौरा पर्वकै समयमा हामी पहिले लाखौँका लुगा कपडा बिक्री गथ्र्यौँ यो वर्ष त कोही पनि आएका छैनन्, गौराको खासै जानकारी नै नभएको जस्तो भएको छ ।”

नेपाली पात्रोअनुसार यो वर्ष गौरा पर्व यही भदौ १० गते छ । सुदूरपश्चिम प्रदेशका हरेक जाति, वर्ग र क्षेत्रका बासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व गौरा भएर गौरा पर्वको उत्साह र रौनक बेग्लै हुने गरेको भए पनि कोरोनाका त्रासले यो वर्ष सुदूरपश्चिममा गौरा पर्व खल्लो भएको दिल्पेश्वर क्षेत्र विकास समितिका सदस्य तथा स्थानीयबासी दीर्घबहादुर कठायतले बताए ।

उनले भने, “सुदूरपश्चिमका हरेक जाति, वर्गले गौरा पर्व मनाउँदै आएका छन्, तर यो वर्ष कोरोनाको कहरले गौरा पर्व मनाउन समस्या भएपछि यहाँका नागरिकलाई निकै समस्या भएको छ ।” सुदूरपश्चिममा गौरा भित्र्याउने घर आँगनदेखि सामूहिक गौरा घरको सरसफाइ सँगै गौरा विर्सजन गर्ने मठ मन्दिरमा पनि सरसफाइ शुरु गरिएको भए पनि गौरा पर्व नमनाउन स्थानीय प्रशासनले सूचना जारी गरेपछि स्थानीयवासी झन दुःखी भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी पूर्णबहादुर विष्टले जानकारी दिए ।

गौरा पर्व नमनाउन प्रशासनले सूचना जारी गरे पनि यहाँका स्थानीयले आइतबार गौरादेवीको प्रसाद बिरुवापञ्चमी मनाउँदै प्रसाद स्वरुप बिरुडासमेत भिजाएका छन् । गौरा पर्वकै लागि वर्षाले बन्द भएका बाटोघाटो, सडकहरुको मर्मत कार्य भने शुरु गरिएको स्थानीयबासीहरु बताउँछन् । यहाँका कतिपय गाउँ घरमा सामूहिकरुपमा नभएर केही व्यक्ति मात्रै जम्मा भएर गौरादेवीको पूजाआजा गर्ने गरी तयारी भइरहेको बताइएको छ ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आइएको पर्वका रुपमा गौरादेवीलाई लिइन्छ । गौरा विसर्जन गरिने मठ मन्दिरमा भाद्र संक्रान्तिका दिन पुरुषहरू जम्मा भएर देवीदेवताको ठाडो (डेउडा) खेल लगाउँदै गौरा पर्व शुरु भएको सन्देश दिने गरिन्छ । पञ्चमीका दिन महिलाहरूले सामूहिकरुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पूज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ ।

एक साता मनाइने गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको डोटीको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले बताए । उनले भने, “गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व भएकाले पनि यसको यहाँ विषेश महत्व छ ।” सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरामा गाइने फाग, चैत, धुमारी र डेउडा खेल धार्मिक गतिविधिमा आधारित रहेको जोरायलका गौरा खेलका डेउडिया नैनबहादुर खड्काले बताए ।

गौरा पर्वमा डेउडा प्राचीन तथा समकालीन विषयवस्तुमा गाउने र खेल्ने चलन रहेको उनको भनाइ छ । गौरा शुरु भएदेखि गाइदै आएका फाग, चैत, धुमारी र डेउडा खेलजस्ता लोक काव्यमा प्राचीन इतिहास लुकेको स्थानीय जानकारहरु बताउँछन् । एर्कातिर देवीदेउताका चैत, फाग, धुमारी, डेउडा खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ भने अर्कोतिर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ ।

बल, तील, गुभा, धान र धानमा भएको साउ अर्थात एकप्रकारको घासका बोटबाट बनाइने गौरा र भगवान शिवका रुपमा काठको प्रतिमा स्थापित गरि एक हप्ता सम्म पूजा गर्ने परम्परा छ । धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले ठाडो खेल र देउडा खेलेर धुमधामसँग मनाउने गर्छन् ।

गौरीको प्रतिमासँगै पहेलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् । यसअघि महिलाहरुले आफ्ना पति र सन्तानको दीर्घायूको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।

अठेबालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भन्ने चलन रहेको संस्कृतिविद्हरु बताउँछन् । अविवाहित कन्याहरूले घर भित्र्याउने परम्परा रहेको गौरा विर्सजन गर्दा भने विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँंदै स्थानीय मठमन्दिरमा लैजाने चलन रहेको छ । अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरा खेलमा रमाउने चलन रहेको छ ।

पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुसी बनाउन अठेबालीका दिन पुरुष विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् । महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भने चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । मठ मन्दिरमा धामी र पुजारीहरूले गौरालाइ विधिवत विर्सजन गर्ने परम्परा छ ।

विगतका वर्षहरुमा सुदूरपश्चिममा ठाउँअनुसार गौरा पर्वको अवसरमा स्थानीय तहहरुले डेउडा खेल प्रतियोगिता समेत राख्ने गरेका छन् । विवाहित महिलाहरुले आफ्नो घाँटीमा गौरा देवीको प्रसादका रुपमा उनि र धागोले बनाइएको एक वर्ष सम्म उक्त धागो बाध्ने चलन रहेको छ । उक्त धागोलाई दुबेधागो भन्ने गरिन्छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त धागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको दिपायल पिपल्लाकी स्थानीय खिमादेवी विष्टले बताइन् । उनले भनिन्, “दुबेधागो पहिरिने महिलाले विहान सधैँ उक्त धागोको पूजा गर्नुपर्छ, पूजा नगरेको दिन खाना नखाने चलन छ ।”

देशका अन्य भूभागमा जस्तै सुदूरपश्चिममा पनि पछिल्लो समय कोरोना भााइरसको सङ्क्रमणले दुःख दिएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । यसमध्ये चार हजार ४०० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित डिस्चार्ज भएका छन् भने अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराबाट ४४२, बैतडीबाट ३२२, डडेल्धुराबाट २९९, बझाङबाट ११०, दार्चुलाबाट ४१ तथा डोटीका ५७६ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा सक्रिय सङ्क्रमित ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ ।

अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । पछिल्लो समय भारतबाट नेपाली आउने क्रम भने रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा पर्याप्त मात्रामा आइसोलेसन बेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भएको पाइएको छ ।

Advertisement

कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक हुने गरेका कारण पनि अहिले कोरोना सङ्क्रमितलाई झनै समस्या भएको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय खडकबहादुर बोगटीले जानकारी दिए । सुदूरपश्चिममा पहिलो पटक गएको विसं २०७६ चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।रासस

भर्खरको समाचार

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top