९ भदौ,महोत्तरी।
कोरोना संक्रमणबाट महोत्तरीमा मंगलबार दुई जनाको मृत्यु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका–३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका–३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए । उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको प्रजिअ कटुवालले बताए ।
यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका उनको अवस्था सोमबारै गम्भीर थियो । उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भएको प्रादेशिक अस्पताल कोभिड– १९ संयोजक डा. जामुन सिंहले बताए । प्रादेशिक अस्पतालमा पुग्नुअघि ती वृद्धको जनकपुरधामको विभिन्न अस्पतालमा उपचार गराएको पाइएको सिंहले बताए । वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।