नितेश यादव
११ भदौ, जनकपुरधाम ।
पछिल्लो २४ घण्टामा धनुषामा ६ प्रहरीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा कार्यरत चारजना सशस्त्र प्रहरी र दुई नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुई जना नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
त्यस्तै, मालपोत कार्यालय जनकपुरका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । यसैगरी हंसपुर नगरपालिकाका एक जना, जनकपुर उपमहानगरपालिका–७ का तीन जना, वडा नम्बर–८ का एक जना, धनुषाधाम नगरपालिका–५ का एक जना, क्षिरेश्वरनाथ नगरपालिका–६ का एक जना, जनकपुर उपमहानगर–१ का तीन जना, जनकपुर उपमहानगर–२ का दुई जना, जनकपुर उपमहानगर–४ का एक जना, धनुषाधाम वडा नम्बर २ र ९ का १-१ जनामा संक्रमण पुष्टि भएको झाले बताए ।
त्यस्तै, जनकपुर उपमहानगर–६ का एक जना, आर्युवेद औषधालय बटेश्वरका दुई जना, गणेशमान चारनाथ नगरपालिकाका एक जना र वडा नखुलाइएका जनकपुरका चार जनामा संक्रमण पुष्टि भएको झाको भनाइ छ ।