नितेश यादव
१६ भदौ,जनकपुरधाम ।
रौतहटमा एक दलित युवाको हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीलाई सोधपुछ गर्ने क्रममा हिरासतमा प्रहरीको यातनाले मृत्यु भएको घटनामा सम्लग्न भएको आशंका गरिएका रौतहटका तीन प्रहरी निलम्बनमा परेका छन् । प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँधुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गरी रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको सोधपुछका क्रममा मृत्यु भएको घटनामा ती प्रहरीलाई निलम्बन गरिएको बताइएको छ ।
निलम्बित प्रहरी निरीक्षक सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै, प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको छ ।