१७ भदौ, विराटनगर ।
घरमै बसेर चिकित्सक, स्वास्थ्यसंस्था तथा आफ्नो स्वास्थ्यका विषयमा परार्मश पाउन सकिने गरी स्वास्थ्यलाई प्राथमिकतामा राख्दै भर्खरै लन्च गरिएको क्युरा हेल्थ मोबाइल एप्लिकेसनको प्रभावकारिता पछि यसमा साझेदारी पनि बढेका छन् ।
विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) डेनिस कार्कीले एप्लिकेसनमा साझेदारी गरेका हुन् । विराटनगरकी महिला उद्यमी जयश्री जाजु, आयुष भगत ,रजत अग्रवालको अग्रसरतामा आएको क्युरा हेल्थमा कार्कीले पनि साझेदारी गरेका छन् ।
डिजिटल प्रविधिमार्फत चिकित्सक र बिरामीले सहज रुपमा सेवा आदानप्रदान हुने भएको यस एपको अवधारणा आफुलाई मन परेकाले साझेदारी गरेको कार्कीले बताए । एपमा क्युरा हेल्थ र क्युरा हेल्थ डक्टर्स दुई वटा एप्लिकेसन रहेका छन् ।
जसमा देशमा उत्कृष्ट चिकित्सकहरुको वितरण पाउन सकिने छ ।क्युरा हेल्थ मोबाइल एप्लिकेसनको माध्यमबाट घरमै बसी आफुले खोजेको चिकित्सक ,स्वास्थ्य क्लिनिक वा अस्पतालमा सोझै सम्पर्क गर्न सकिनेछ ।
चिकित्सकहरु कुन अस्पतालमा कुन समयमा उपलब्ध हुन्छन् भन्ने पनि एप मार्फत जान्न सकिने भएकोले यसले चिकित्सक र बिरामीबीचको दुरी घट्ने कार्की बताउँछन् ।
आफ्नो मोबाइल फोनमा यो एप्लिकेसन डाउनलोड गरेपछि यसको माध्यमबाट प्रयोगकर्ताले आफुले चाहेको अस्पतालमा वा सम्बन्धित विशेषज्ञ चिकित्सकसंग आफ्नो नाम समेत दर्ता गराउन सक्नेछन ।
द नेक्स्ट जेनेरेशनसँगको सहकार्यमा आएको क्युरा हेल्थ एप्लिकेसनमा रहेको टेलिमेडिसिन फिचरबाट सम्बन्धित चिकित्सकहरुको समय बुकिङ्ग गरि सोही समयमा अडियो वा भिडियोकल मार्फत पनि परामर्श लिन सकिनेछ ।
यस एप मार्फत देशभरका चिकित्सकहरुको तथ्यांक संकलन गर्न सकिने संस्थापक जाजु बताउँछिन् । यो एपलाई सेप्टेम्बरभित्र एन्ड्रोयड र आईफोनमा पनि उपलब्ध गराईने उनले बताइन् ।