२० भदौ, बुटवल ।
रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।
नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मृतक पुरुष गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेका थिए । उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले जनाए ।
यसैगरी, नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको थियो । शुक्रबार रातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।