स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

२२ भदौ ७७, मंगलबार

२३ भाद्र, बैतडी ।
स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव भुपेन्द्र बोहरामाथि सोमबार बेलुका हातपात भएको हो।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले हातपात गरेका हुन्‌। भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेका बेला आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए।

उनले भने, ‘विद्यालयमा बैठक चलिरहेको थियो। ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए। मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो।’ स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ।

Advertisement

आफूमाथि हातपात गरेपछि गाँजरी प्रहरी चौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए। उनले भने, ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ। अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। यसपछि के हुन्छ ? त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’ स्वाब संकलन गर्ने हिसाबले हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हातपात भएपछि सो कार्यसमेत प्रभावित भएको ढुंगाड स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए।

उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौं। तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ।’ यता, बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले हातपातमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए।

Advertisement

उनले भने, ‘स्वास्थ्यकर्मी हातपात भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी टोली गएको छ।’ बैतडीमा जिल्लाका प्रत्येक स्थानीय तहमा समुदायमा कोरोना परीक्षण गर्न संक्रमितका आफन्तहरुको स्वाब संकलन गर्ने कार्य भईरहेको छ।

अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन्। जिल्लामा हाल १३ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top