२३ भदौ, जनकपुरधाम ।
धनुषामा एक दलित परिवारमाथि कुटपिट भएको छ । धनुषाको विदेह नगरपालिका–५ गोबराहीका सवाई दासका परिवारमाथि पूर्व प्रधानपञ्च हरि कुसियैतका परिवारले कुटपिट गरेको पीडितले बताएका छन् । सोमबार साँझ भएको समान्य विवादमा कुसियैत परिवारले दास परिवारमाथि घरमै पसेर कुटपिट गरेको पीडित रामशरण दासले गुनासो गरे ।
कुटपिटबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारको लागि जनकपुरस्थित काव्य हस्पिटलमा भर्ना गरिएको छ । किराना पसलमा भएको सामान्य विवादको लागि घरमै पसेर सबैमाथि कुटपिट गरेको पीडित रामशरणको आरोप छ । कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडित परिवारको भनाइ छ ।
कुटपिट गर्नेहरुमाथि कारबाहीको लागि दुहबी गोबराही प्रहरीचौकीमा पीडित परिवारले निवेदन दिएको बताइएको छ । तर कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडित परिवारले आरोप लगाएका छन् ।
यता दुहबी प्रहरी चौकीका प्रहरी नायब निरिक्षक हिलम सिंह दनुवारले दुवै पक्ष बीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदादुबै पक्ष घाइते भएको जानकारी दिएका छन् । कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको र फर्केपछि यस विषयमा छलफल गर्ने उनले बताएका छन् ।
