२४ भदौ, काठमाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए । कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ ।
स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको छ । सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।
कोरोना सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर आज सम्म र्पुयाइएको थियो । निषेधाज्ञा लगाए पनि सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ ।
निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको छ ।