नेकपा नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा एक-अर्काविरूद्ध लेख्न नपाउने

नेकपा नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा एक-अर्काविरूद्ध लेख्न नपाउने

२५ भदौ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ ।

शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको उल्लेख छ ।

प्रस्तावमा भनिएको छ,’पार्टीको नीति नेता र कार्यकर्ताविरूद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइसाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’

नेतृत्व तहबाट समेत गम्भीर गल्ती कमजोरीहरू भएको भन्दै प्रतिवेदनमा पार्टीभित्र उत्पन्न अन्तरविरोध ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उल्लंघन हुँदै गएको र आन्तरिक एकता कमजोर भएको उल्लेख छ।

पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोजेको भन्दै प्रतिवेदनमा गुट(गुटका अलग अलग बैठक बस्ने निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप(प्रत्यारोपमा उत्रिने गलत अभ्यासलाई कडाइका साथ रोक्न प्रस्ताव गरिएको छ।

पार्टीका नेताका नाममा सञ्चालित प्रतिष्ठान तथा संघ संस्थाहरू गुटबन्दीको माध्यम बनेको भन्दै यसको सञ्चालन विधि निश्चित गर्नसमेत प्रस्ताव गरिएको छ।

नेकपाभित्र, विशेषगरी पूर्वएमालेका नेताहरूका नाममा गठित एक दर्जन भन्दा बढी प्रतिष्ठानहरू सक्रिय छन्। त्यस्ता प्रतिष्ठानका नामबाट गुटबन्दी बढ्दै गएको भन्दै प्रतिष्ठान खारेज गर्नुपर्ने माग गत माघको केन्द्रीय समिति बैठकमा समेत उठेको थियो। प्रतिष्ठानहरूको नेतृत्व सचिवालयका सदस्यदेखि केन्द्रीय सदस्यहरूले गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.