२६ भदौ, बुटवल । बुटवलमा नवलपरासी पश्चिमका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको आज शुक्रबार मृत्यु भएको हो ।
उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि उनलाई १९ गते नै अस्पताल ल्याई पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।