२८ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । घिसिङको कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । पुनः नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।
प्राधिकरणका कर्मचारीले आजै उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।
कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोर्होयाउने गरी प्रस्ताव पुगेको छैन ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।