प्रहरीसँगकाे झडपमा गुल्मी कांग्रेस सभापति घाइते, प्रतिपक्षलाई नजिस्क्याउन चेतावनी

प्रहरीसँगकाे झडपमा गुल्मी कांग्रेस सभापति घाइते, प्रतिपक्षलाई नजिस्क्याउन चेतावनी

५ असाेज, काठमाडाैँ।

नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको -याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।

झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते भएका छन् । झडपमा दुई प्रहरीसहित छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको रानीपोखरी निम्नमाध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत काम हुने गरी चारकाठे भवनको काम गर्नका लागि रु ७० लाख ४० हजार बजेट विनियोजन भएको र बजेटको कार्यान्वयनका लागि विद्यालयमा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भएकामा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण शुरु गर्ने निर्णय भएको थियो ।

व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन नपाइने नियम भए पनि निर्माण समितिले विनोद विकलाई रु १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएपछि सो झडप भएको बताइएको छ । स्थानीयवासी गिरिप्रसाद महाकिमले वडाध्यक्षलगायतको समूहले ठेकेदारमार्फत काम गराएर विद्यालयको रकम हिनामिना गर्न खोजेको आरोप लगाए ।

जिल्ला सभापति माथि दूर्व्यवहारप्रति गम्भीर आपत्ति

यता सभापति श्रेष्ठमाथि प्रहरीले दूर्व्यवहार गरेको कांग्रेसले जनाएको छ। स्थानीय प्रशासनको दूर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीबाट तत्काल सार्वजनिक स्पष्टीकरण माग गरेको छ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘आज गुल्मी जिल्लाको स्थानीय एक मुद्दामा केन्द्रित रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो। कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्‍याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकियो। रोकिएपश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो।’

शर्माले पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति श्रेष्ठमाथि प्रहरीले धक्कामुक्का गर्दै दूर्व्यवहार गरिएको जनाएका छन्।शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न  माग गरिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.