७ आश्विन, विराटनगर ।
चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचार नेपाली सञ्चार माध्यमहरुमा आएको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।
चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् ।
‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् । केही दिनयता नेपाली मिडियाले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए ।
लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो । उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन ।
चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।