११ असोज, काठमाडौँ ।
कोरोनाले थिलथिलो बनाएको पर्यटन क्षेत्रलाई उकास्न सरोकारवालाहरु जोडतोडले लागिरहदा पर्यटन क्षेत्रलाई चलायमान बनाउने त्याहा आश्रित मजदुर भने प्रर्दशनमा उत्रिएका छन् । पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धधन गर्ने विविध कार्यक्रम हुनुपर्ने दिन,त्यसमा स्वतस्फूर्त सहभागिता हुनुपर्नेमा पर्यटन मजदुरहरु भने आइतबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् ।
पर्यटन दिवसका दिन पर्यटन प्रवद्र्धनका लागि नभई उत्पीडनमा परेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन । पर्यटन मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् ।
सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् । आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा पनि लगाएका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराईले अबको पर्यटन ग्रामिण पर्यटनमा केन्द्रित हुनुपर्ने बताइरहेकै बेला शहरी पर्यटन मजदुरहरु संघीय राजधानीमा उनै विरुद्ध नाराबाजि गर्दैछन् । पर्यटन क्षेत्रलाई उकास्न सरकार प्रतिवद्ध रहेको बताउँदै आएका पर्यटनमन्त्रीले तत्काल महामारीका कारण रोजगारी खोसिएर पेट पाल्नै नसक्ने अबस्थामा पुगेका पर्यटन मजदुरहरुलाई भने सम्बोधन गर्न नसक्दा उनी विरुद्ध नाराबाजी भएको देखिन्छ ।
पर्यटन मन्त्रीले काठमाडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गर्दे गर्दा मजदुरहरु उनको राजीनामा मागिरहेका थिए । उनले पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउदै आएपनि ती भनाईले मजदुरलाई छुन सकेको छैन । मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका थिए । नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले बोल्ने तर काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् । पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ । यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् । उनीहरुले आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका हुन् ।