२० असोज, काठमाडौं । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।
नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भएको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।
नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।
तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो ।
यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।
अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो ।
सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ ।
एक जना भने भारतबाट गएका यात्रु थिए । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।