२१ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै बाइडेनले केही गरी अझै पनि ट्रम्प संक्रमित नै भए दोस्रो टेलिभिजन बहस गर्न नहुने उनले बताएका हुन् । बाइडेनले भने, ‘मलाई लाग्छ, उनको साथमा अझै पनि कोभिड रहेको भए, हामीले बहस गर्नु हुँदैन ।
हामीले निकै कडा दिशानिर्देशनको पालना गर्नुपर्दछ । धेरै मानिस संक्रमित भएकाले यो एक निकै गम्भीर समस्या हो ।’ आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ ।
१ अक्टोबर विहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उनको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज हुभएका छन् ।
अमेरिकी सार्वजनिक स्वास्थ्य निर्देशन अनुसार पनि लक्षण देखिएको दिनबाट अरु दश दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । तर ट्रम्प दोस्रो टिभी बहसमा लागि तयार रहेको उनका सल्लाहकार जेना एलिसले जानकारी दिएका छन् ।
एलिसले गएको टिभी बहसमा बाइडेनले राम्रो गर्न नसकेकाले बहसबाट उम्किने दाउ खोजिरहेको आरोप समेत लगाए । गत हप्ता गरिएको टिभी बहसलाई इतिहासकै खराब बहसका रुपमा लिइएको छ । जहाँ ट्रम्प र बाइडेन एकापसमा झगडाको स्तरमै ओर्लिएका थिए ।