विराटनगर, बैशाख ९
सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दै संयुक्त ट्रेड युनियन प्रदेश नम्बर १ ले सोमबार प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
संयुक्त ट्रेड युनियनले चिया श्रमिकहरु न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दे २२ दिनदेखि आन्दोलित हुदा पनि सरकार पक्षले वेवास्ता गरेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन बुझाएका हुन् ।
उनीहरुले चाडोभन्दा चाडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
चिया मजदुरहरुले सरकार, रोजगारदाता एवम् श्रमिकको त्रिपक्षीय सहमतिद्धारा २०७५ श्रावण १ गतेदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुन बमोजिम श्रमिकले पाउने संचयकोष र उपादान लगायतका सुविधा प्रदान गर्नुपर्ने भएपनि रोजगारदाता र सरकारले सो व्यवस्था नगरेका कारण आन्दोलित हुनु परेको गुनासो गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले चिया मजदुरहरुको समस्या गम्भीरतापूर्वक लिएको बताउदै संघीय सरकार र सम्बन्धित मन्त्रीहरुसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
आफना अधिकार सुनिश्चित गर्न अर्काको अधिकार अधिकार हनन् नगरीकन गरिएको आन्दोलनलाई पनि वेवास्ता गरे सडक अबरुद्धदेखि नाकाबन्दीसम्मको आन्दोलनका कार्यक्रम गरिने नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट)का प्रदेश १ का उपाध्यक्ष शन्तकुमार राईले चेतावनी दिएका छन ।चिया मजदुरहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत यही ११ गते यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालयहरुमा धर्नादिने कार्यक्रम तय गरेका छन् ।