×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक लाखको मालिक्नीले ८ अर्बको बाणिज्य बैंक हल्लाइन्, धेरै कम्पनीमा झमेला हुन सक्ने

२८ बैशाख २०७६

काठमाडौं ,बैशाख २८

सेयरधनीको नाम नानुमाया देवकोटा । स्थायी ठेगाना सुलीकोट–६, गोरखा । हालको ठेगाना कामनपा–१६, काठमाडौं । सेयरको डिम्याट नम्बर १३०११२०००००१०८५१ ।

उनको स्वमित्वमा कुमारी बैंकको १०२६ कित्ता सेयर रहेको छ । अंकित मूल्यका आधारमा कुल १ लाख २ हजार ६०० रुपैयाँ लगानी रहेको यी महिलाले चुक्ता पुँजी ८ अर्ब ७ करोड ६७ लाख २७ हजार ८०० रुपैयाँ भएको कुमारी बैंकलाई हल्लाएकी छिन् ।

कानुनी र अदालतको आदेशका आधारमा कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन प्रकिया रोक्न उनी सफल भएकी छिन् । अदालतको सहायतामा उनले बैंकका ६० हजार भन्दा बढी सेयरधनीलाई विलखबन्धनमा पारेकी छन् ।

उनले अदालतबाट ल्याएको आदेशका आधारमा यहि बैंशाख २६ गते भएको कुमारी बैंकको १७औं र १८औं वार्षिक साधारणसभा निर्वाचन सम्बन्धि प्रस्तावमा प्रवेश नै नगरि सम्पन्न भएको छ । २०७३ साल चैत ९ गते कार्यकाल सकिएको कुमारी बैंकको सञ्चालक समितिले अब अनिश्चित अवधिको लागि निरन्तरता पाएको छ ।

के हो भित्री खेल ?

वर्तमान सञ्चालक समितिको कार्यकाल २०७३ चैत ९ गते सकिएको हो । त्यतिबेला कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया चलेकोले बैंकका सञ्चालक समितिले चलाखी अपनाए । मर्जर सम्बन्धि विनियमावली २०७३ को विनियम १३ (१) ढ प्रयोग गर्दै सञ्चालक समितिले अर्को निर्वाचन नभएसम्मका लागि विद्यमान सञ्चालक समितिको कार्यकाल थप गर्ने प्रस्ताव साधारणसभामा लग्यो । सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पास गर्यो ।

एनसीसीसँगको मर्जर प्रक्रिया भाँडियो । काष्ठमण्डप डेभलपमेन्टसहित अरु विकास बैंक प्राप्ति प्रक्रियामा कुमारी बैंक अगाडि बढ्यो । तोकिएको समयमा चुक्ता पुँजी ८ अर्ब पुर्याउन नसकेकोले बैंकलाइ गत वर्ष १७ औं साधारणसभा गर्न राष्ट्र बैंकले स्वीकृति दिएन । हकप्रद सेयर निष्काशन गरी पुँजी वृद्धि प्रक्रियामा बैंक अगाडि बढ्यो ।

गत चैत २५ गते बसेको बैंक सञ्चालक समितिले दुई आर्थिक वर्षको नाफाबाट २१.२५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब बनाउने, संचालक समितिमा महिलासहित ५ जना मात्र रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहबाट २ जना, सर्बसाधारण समूहको तर्फबाट २ जना गरी ४ जना सञ्चालक चयन गर्ने लगायत प्रस्तावसहित बैशाख २६ गते साधारणसभा डाक्ने निर्णय लियो ।

चैत २६ गते बैंकले नानुमाया देवकोटाको नाममा लेखिएको एउटा पत्र पायो । कम्पनी ऐनको दफा ८६ को उपदफा २ अनुसार सञ्चालक समितिमा एक जना महिला हुनुपर्ने, कानुनअनुसार बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गरी महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नु पर्ने माग गरिन्। बैंक सञ्चालक समितिलाई लेखिएको पत्रको बोधार्थ कम्पनी राजिष्ट्रार कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायत निकायलाई पठाइन् ।

‘नानुमयाया देवकोटालाई हामीले देखेका छैनौ, चिनेका पनि छैनौ । कुरियरबाट उनको निवदेन पाएका थियौं’ बैंक सम्बद्ध उच्च व्यवस्थापन स्रोतले भन्यो–‘एउटा निवेदनका आधारमा साधारणसभा, निर्वाचन रोक्ने कुरा भएन, हामीले साधारणसभाको तयारीका साथै निर्वाचन कार्यक्रम अगाडि बढायौं ।’

बैंकले बैशाख १७ गते निर्वाचन सम्बन्धि कार्यक्रम पत्रिकामा प्रकाशित गर्यो । निर्वाचन कार्यक्रम रोक्न देवकोटाले उच्च अदालत पाटनमा मुद्दा हालिन् । १९ गते उच्च अदालतले उत्प्रेषणयुक्त परमादेश जारी गर्यो ।

कम्पनी ऐन, २०६३ को दफा ८६(२)ले महिला शेयरधनी भएको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा एक जना महिला सञ्चालक रहने बाध्यात्मक कानूनी व्यवस्था गरेकाे, निवेदीकाको संविधान तथा कानुन प्रदत्त मौलिक र कानुनी हकमा प्रत्यक्ष असर पर्नुको साथै अपूरणीय क्षती स्थिति देखिएको जनाउँदै उच्च अदालत पाटनले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन कार्यक्रम रोक्न आदेश दिएको छ ।

अदालतको आदेश अनुसार निर्वाचन रोकिएको बैंकका अध्यक्ष सन्तोष लामाले साधारणसभालाई जानकारी दिए ।

निवेदकको नियत शंकास्पद

निवेदकले कानुनी अधिकार प्रयोग गर्नु आफैमा राम्रो भए पनि उनको नियत भने शंकास्पद देखिएको कुमारी बैंक सम्बद्ध स्रोतले बतायो ।

स्रोतका अनुसार उनी सिभिल बैंकको पनि सेयरधनी हुन् । बैशाख २७ गते भएको सिभिल बैंकको साधारणसभाले महिलाविनाको सञ्चालक समिति चयन गरेको छ । त्यसमा उनले कहिँ कतै उजुरबाजुर गरेकी छैनन् । ‘कुमारी बैंकको सञ्चालक समिति चयनमा कानुनी अवरोध सिर्जना गर्ने उनले सिभिल बैंकको सञ्चालक समिति चयनमा किन कानुनी प्रश्न गरिनन् ?’ बैंकका एक प्रमोटरले प्रश्न गरे ।

सिडिएस एण्ड क्लियरिङ कम्पनीका अनुसार नानुमाया देवकोटाको स्वामित्वमा एनएलजी इन्स्योरेन्समा ९२० कित्ता सेयर छ । कामना सेवा विकास बैंकमा ११९२ कित्ता सेयर छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा १८४९ कित्ता प्रमोटर सेयर छ । सिद्धार्थ बैंकमा ११४८ कित्ता सेयर छ । यी पब्लिक कम्पनीको सञ्चालक समितिमा महिला प्रतिनिधित्व छैन । ती कम्पनीको किन उनले कानुनी प्रश्न उठाइनन् ? उनले किन कुमारी बैंकलाई नै अप्ठ्यारो पारिन् ? धेरैले प्रश्न गर्न थालेका छन् ।

यी महिलाको स्वामित्वमा जलविद्युत लगानी तथा विकास कम्पनीमा १२९९ कित्ता, छिमेक लघुवित्तमा १३२० कित्ता, माछापुच्छ्रे बैंकमा २६६६ कित्ता, मेगा बैंकमा १२०९ कित्ता, नेपाल बंगलादेश बैंकमा ३७८२ कित्ता र ओरेन्टल होटलमा ५९० कित्ता सेयर छ । उनको नाममा अरु एक दजर्नन भन्दा बढी कम्पनीमा ५ देखि १०० कित्ता सेयर रहेको देखिन्छ ।

अरूमा पनि झमेलाकाे जाेखिम

कानुनी व्यवस्थामा केही अस्पष्टता भएकाेले महिला सञ्चालक नभएकाे कुनै पनि पब्लिक कम्पनीमा कुमारी बैंकमा जस्ताे समस्या बल्झने देखिएकाे छ । एक जना महिला सञ्चालक हुनु पर्ने कम्पनी कानुनमा भए महिला सञ्चालक सर्बसाधारण सेयरधनी समूहबाट हुने कि ? प्रमाेटर समूहबाट हुने कि ? विज्ञ सञ्चालक महिला हुने कि ? भन्ने विषयमा अस्पष्टता रहेकाे जानकारहरू बताउँछन् ।(विकास न्युजबाट)

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top