×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविविरुद्ध आज भएन मुद्दा दर्ता, अब आइतबार के हुन्छ ?

५ पुष २०८१

५ पुष ,काठमाण्डौ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् । लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकोले आइतबार मुद्दा दर्ता गर्ने तयारी छ ।

सहकारीको सम्पत्ति गोरखा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष छविलाल जोसीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको ८९ दिन भइसकेहकाले भोलि अन्तिम दिन हो ।

अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनहको हदम्याद सकिने भएकाले सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आइतबार मुद्दा दायर गर्ने तयारी छ ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।

पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ।

उनीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार थप अभियोग पेस गर्ने तयारी सरकारी वकिलको छ। यसअघि उनीहरूविरूद्ध सहकारी ठगीको अभियोग मात्र लगाइएको थियो। सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका रवि लामिछानेसहित ५ जना विरूद्धको पूरक अभियोग भने आइतबार मात्र जिल्ला अदालतमा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। उनीहरूविरूद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने सरकारी वकिलको तयारी छ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले कानुन अनुसार हदम्यादभित्रै अदालतमा मुद्दा दर्ता हुने बताएकी छन् । कानुनअनुसार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो। पूर्वडीआईजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो।

एउटै मुद्दा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ। उनीहरूविरूद्ध एउटै मुद्दा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ। सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका संचालक र कम्पनीका प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गरेको हो । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने र प्रतिवादी बनाउने राय दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले बताएका छन् । उनका अनुसार सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्।

सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन्। प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top