२४ असोज, काठमाडौं ।
नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।
आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । केसीको जीवन रक्षाका लागि दबाब दिन सडक आन्दोलनको आह्वान पनि गरिएकाे छ ।
डा. केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् । शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन । उल्टै सरकारी वार्ता टोलीले कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।