काठमाडौ : नेपालमा मानसिक स्वास्थ्य समस्या वयस्कमा बढी देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालका ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या छ ।
परिषद्ले मानसिक स्वास्थ्य सर्भेक्षणबाट यस्तो नतिजा देखिएको हो । सर्भेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ ।
परिषद्ले सन् २०१९ देखि सन् २०२० सम्म गरेको मानसिक स्वास्थ्य सर्भेक्षणको नतिजाले यस्तो देखाएको हो । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सर्भेक्षणमा सातवटै प्रदेशका १५ हजार ८८ जना रहेका सहभागीमध्ये नौ हजार दुई सय जना १८ वर्षमाथिका वयस्क भएको बताउनुभयो । यस्तै सर्भेक्षणमा पाँच हजार ८८८ जना भने १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी छन् । उहाँले वयस्कलाई अझ बढी परामर्शको जरुरी परेको तथ्याङ्कले देखाएको बताउनुभयो ।
डा. ज्ञवालीका अनुसार तीन प्रतिशत वयस्कमा उदासीनताको समस्या देखिएको पाइएको छ । यस्तै ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।
परिषद्का अनुसार ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेको कारण र शून्य दशमलव दुई प्रतिशत वयस्कमा मादक पदार्थबाहेक अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरेका कारण मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तै ४० देखि ४९ वर्ष उमेर समूहका ६.३ प्रतिशत वयस्कमा यस्तो समस्या भएकोसमेत देखिएको छ । कोसिसका अध्यक्ष मातृका देवकोटाले सरकारले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले २०५३ सालमा मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै महाशाखा राख्ने निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभयो ।
विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि शनिबार विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।