आलुको जोन क्षेत्रमै आलुको सङ्कट

२७ असोज ७७, मंगलबार

२७ असाेज, गलकोट ।

Advertisement

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा भारी ह्रास आएपछि स्थानीय कृषक चिन्तित छन् । अहिले आलुको जोनमै आलुको सङ्कट भएको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा छवटा आलुका जोन क्षेत्र छन् । जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएपछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको सङ्कट भएको किसानले गुनासो गरेका छन् ।

Advertisement

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिए । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए”, बुढाले भने, “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।” बुढाका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरुप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएका कारण आलुको बीउ मात्रै जोगाइएको बूढाको भनाइ छ ।

बूढाले मात्रै झण्डै १०० रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । बूढाजस्तै ताराखोलाका सयौँ किसानले बिक्री गर्नेभन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

Advertisement

अहिले बागलुङमा आलु उत्पादनमा भारी गिरावट आएपछि प्रतिकिलो आलुको खुद्रा मूल्य रु १०० पर्न गएको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताए । जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आएपछि अन्य जिल्लाबाट आलु मगाएर बिक्री गर्दा बढी मूल्य पर्न गएको जैशीको भनाइ छ । आलुको बीउसमेत बचाउन मुस्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले जानकारी दिए । करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आएका उनले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन समस्या भएको बताए । धेरैले व्यावसायिक रुपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको र यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गरे ।

यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलु पाउनै मुस्किल रहेको स्थानीय रेशम रानाले जानकारी दिए । “पाउनालाई खुवाउने आलुसमेत छैन बेच्नेको त कुरै छाडौँ”, रानाले भने, “आलुबेचेरै जीविका चलाउँदै आएका यहाँका कृषिक यस वर्ष आलु नफल्दा मारमा रहेका छन् ।” आलुको छवटा जोनबाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोकलाई आलुको पकेट क्षेत्रका रुपमा लिइएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा नसोचेको गिरावट आएको बताए । “यो वर्ष पूर्व अनुमान गरिए भन्दा अत्यधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो”, काफ्लेले भने, “जसका कारण बागलुङका आलु जोनमै ६० प्रतिशतभन्दा बढी आलु उत्पादन घटेको छ । यसले गर्दा अहिले आलु खान मात्रै होइन, बीउसमेत कसरी बचाउने भन्ने पिरलो किसानमा देखिएको छ ।” अहिलेको समस्यामा किसानलाई कसरी राहत अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । आलुको जोन हुनका लागि ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ आलुको पकेट क्षेत्र हुनका लागि १० हेक्टर जमिनमा आलुखेती गरेको हुनुपर्दछ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top