२९ आश्विन, एजेन्सी ।
फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताए ।
उनले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेका हुन् । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।
दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।