डीडीसीका बटरमा आइस क्रिस्टल

१ कात्तिक ७७, आइतबार

२ कार्तिक,काठमाडौँ ।
बालाजुस्थित दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजनामा मौज्दात बटरमा आइस क्रिस्टल र र बिक्री भइरहेका आधा लिटर प्याकका घिउमा सेतो ठोस पदार्थ फेला परेको छ ।

घिउमा भेटिएको सेतो ठोस पदार्थ जतिसुकै बढी तापक्रममा पनि नगलेको उजुरी परेको छ । बालाजुको वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात छ । उक्त बटर २५–२५ किलोको कार्टोनमा राखिएको छ ।

केही कार्टोनमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनी लेखिएको छ । तर उत्पादन मिति नोभेम्बर २०१९, डिसेम्बर २०१९ उल्लेख छ । ती बटरमा आइस क्रिस्टल भेटिएको हो । बटरमा आइस क्रिस्टल भेटिएपछि बलाजु प्लान्टले केन्द्रीय कार्यालयलाई प्रयोग गर्ने वा नगर्ने विषयमा निर्देशन गर्न भन्दै पत्र पठाएको छ ।

‘२०७७ भदौ ३ को पत्रका सम्बन्धमा सुजल डेरी प्रालि पोखराबाट प्राप्त भएको मख्खनको बीचको भागमा आइस क्रिस्टल देखिएको छ । मख्खन प्रयोग गर्न हालसम्म कुनै किसिमको निर्देशन प्राप्त नभएकाले उक्त मख्खन प्रयोग गर्न कठिनाइ भएकाले आवश्यक निर्णयका लागि अनुरोध गर्दछु,’ बालाजु वितरण आयोजना प्रमुख गोविन्दराज जोशीले केन्द्रीय कार्यालयमा पठाएको पत्रमा भनिएको छ ।

कार्टोनमा राखिएको बटरमा बीचबाट पाइपबाट तानेर आइसको ब्लक राख्न सकिने डीडीसी कर्मचारीहरू बताउँछन् । बिक्री गर्दा उपभोक्ताले उक्त कैफियत थाहा पाउँदैनन् । ‘बटर मापदण्डअनुसार भए–नभएको साइडबाट मात्रै काटेर परीक्षण गर्ने चलन छ ।

बीच भागको पहिचान नै हुँदैन,’ डीडीसीका एक कर्मचारीले भने, ‘बटरमा आइस क्रिस्टल बढी हुँदा जति परिमाणमा घिउ आउनुपर्ने हो, त्यो परिमाणमा आउँदैन ।’ आयोजना प्रमुखले केन्द्रीय कार्यालयलाई पठाएको पत्रले पनि मापदण्ड नपुगेको पुष्टि गर्छ ।

यता सुजल डेरी प्रालिका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले भने दुई–तीन लाख किलोमा एकाधमा यस्तो क्रिस्टल भेटिनु सामान्य रहेको बताए । ‘बटरमा २० प्रतिशत पानी हुन्छ, कहिलेकाहीँ ढुवानीका कारण पानी बाहिर निस्क्न सक्छ,’ उनले भने, ‘यस्तो कसरी भयो भन्ने थाहा छैन ।

तर उहाँहरूले हाम्रो एउटा सामानमा आइस क्रिस्टल देखिएको भन्नुभएको छ । त्यसको अध्ययन गर्नुपर्छ ।’ उनका अनुसार तापक्रम नमिले पनि समस्या हुन्छ । गुणस्तरमै समस्या भए डेरीको रोहवरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘गुणस्तरमा शंका भए काम नगरौं भनेका छौं,’ श्रेष्ठले भने, ‘बटरको तापक्रम मिलेन भने पनि समस्या हुन्छ । अब रेफ्रिजेरेटर भ्यानभन्दा बाहिर पठाउँदैनौं ।’ प्राविधिक हिसाबले बटरमा समस्या नभएको डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दाबी गरे ।

‘बटरमा १८–२० प्रतिशत पानी नै हुन्छ । त्यसैले आइस क्रिस्टलले त्यति धेरै अर्थ राख्दैन,’ उनले भने, ‘पानी नै भएन भने त्यो चाहिँ गम्भीर हो ।’ बटरसँगै बालाजु प्लान्टबाट उत्पादित आधा केजी घिउको प्याकेटमा पनि समस्या देखिएको छ ।

आधा किलोको घिउमा सेतो ठोस पदार्थ भेटिएको भन्दै उजुरी परेको छ । घिउको गुणस्तरबारे उजुरी परेपछि लैनचौरस्थित दुग्धपदार्थ बिक्रीवितरण आयोजनाले घिउमा देखिएको समस्याबारे केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ ।

‘बालाजु प्लान्टबाट उत्पादित घिउ बजार र डिस्ट्रिब्युटरबाट फिर्ता भई गुनासो प्राप्त भएको छ । गुनासोको विश्लेषण र समस्या पहिचान गरी गुणस्तर सुधार गरिदिन केन्द्रीय कार्यालयलाई पत्र पठाइएको छ,’ डीडीसी स्रोतले भन्यो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७५ सालमा दूध तथा दुग्धपदार्थको न्यूनतम गुणस्तर निर्धारण गरेको छ । खाद्य तथा दाना वस्तुहरूमा निर्धारित न्यूनतम अनिवार्य गुणस्तरअन्तर्गत घिउको मापदण्ड तयार गरेको छ ।

‘घिउ भन्नाले कुनै रङ नहालेको र दूधबाट सिधै वा दूधको दही वा क्रिम वा मख्खनबाट तयार गरिएको चिल्लो पदार्थमा भएको सम्पूर्ण जलांश उड्ने गरी खारी स्वच्छ तुल्याइएको दूधको चिल्लो पदार्थ हुनुपर्ने,’ मापदण्डमा भनिएको छ ।

तर आधा लिटरमा समस्या देखिएपछि डिस्ट्रिब्युटरहरूले घिउको स्यााम्पल देखाउँदै फिर्ता गर्ने कुरा गरिरहेको स्रोतले बतायो । बिहीबार मात्रै चार जनाले उजुरीसमेत गरेको डीडीसीका एक अधिकारीले जानकारी दिए । ‘छामेर हेर्दा दानादाना जस्तो आएको छ ।

उपभोक्ताहरू प्याकेट नै लिएर आउने गरेका छन्,’ उनले भने, ‘हेर्दा छेक्राछेक्रा देखिन्छ । बजारमा गएको आधा लिटरको प्याकेटमा धेरै गुनासो आयो ।’ क्रिस्टलका सन्दर्भमा आफूहरूले अध्ययन गरिरहेको बालाजु प्लान्टका आयोजना प्रमुख जोशीले जानकारी दिए ।

‘बजारमा मिसावट गरिएको पनि हुन सक्छ । त्यही भएर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा नमुना पठाएका छौं,’ उनले भने, ‘वैज्ञानिक प्रमाण चाहिन्छ, त्यही भएर अध्ययन गरिरहेका हौं ।’ जोशीका अनुसार घिउमा विभिन्न तत्त्व हुने भएकाले यो तेलजस्तो हुँदैन ।

घिउको प्रकृति नै जम्ने किसिमको हुने उनको भनाइ छ । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले पनि घिउमा ठोस पदार्थ देखिएको र नपग्लिने गुनासो आएको बताए । गुणस्तरका विषयमा भने कुनै समस्या नभएको उनको दाबी छ । ‘प्रयोगशालामा परीक्षण गर्दा समस्या छैन ।

घिउ तताउँदा अलिकति कनिका जस्तो देखिएको छ,’ उनले भने, ‘तर गुणस्तरमा समस्या छैन । कुनै खराबी पनि छैन ।’ कुनै लटमा भैंसीको दूधको मात्रा बढी हुँदा त्यस्तो समस्या देखिन सक्ने डीडीसीको दाबी छ ।

‘गुनासो गर्न आउँछन्, कतिपयलाई सम्झाएर पठाएका छौं,’ उनले भने । (कान्तिपुरमा प्रकाशित समाचार)

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top