१८ कात्तिक, राजविराज।
सप्तरीका थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिकाको साविक २ नम्बर जोगिनियाँ वार्ड नम्बर १ बस्ने ५८ वर्षीय पुरुष शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
मोरङ्ग जिल्ला स्थित शिक्षण पेशामा संलग्न उहाँलाई ज्वरो, टाउको दुखेपछि विराटनगर स्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते बिराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार मृत्यु भएको उनले जानकारी दिए ।
लामो समयदेखि सुगर, ब्लडप्रेसरबाट पीडित उनलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको बताइएको छ । न्यरो अस्पतालले कार्डियोपल्मोनरी अरेष्ट (अघात) का कारण उहाँको मृत्यु भएको मृत्यु प्रमाणपत्रमा उल्लेख गरेको वरिष्ठ मलेरिया इन्सपेक्टर राउत बरैले बताए।
यसैगरी, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ६ निवासी उनको सोमबार साँझ मृत्यु भएको वरिष्ठ मलेरिया इन्सपेक्टर बरैले जानकारी दिए । बीपी अस्पतालको स्टाफ रहेको उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सोही अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको बताइएको छ । मृतक दुबै जनाको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।