२९ कार्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय १२ औँ जन्मजयन्ती मनाइँदैछ ।
स्वदेश र विदेशमा रहेका नेपालीहरूले देवकोटाको स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने गर्छन् । महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो ।
त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनको स्मरण गरिन्छ । यसपाली भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमविना नै देवकोटाको जयन्ती मनाइन लागिएको हो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए ।
नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो । उनको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएको साहित्यिक कृतिको रुपमा बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।