१ मंसिर, डोल्पा । हिमपातले गर्दा चिसो बढेपछि डोल्पामा ज्योतिषको साइतअगावै भाइटीका लगाइएको छ।
आइतबार रातिदेखिको बदलीपछि सोमबार बिहानैदेखि उपल्लो डोल्पा र तल्लो डोल्पाका विभिन्न स्थानमा बर्षातसँगै हिमपात सुरु भएको हो । उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायतका बस्तीहरुमा राति देखि हिमपात सुरु भएको शे–फोक्सुण्डो गाउँपालिका ८ का अध्यक्ष निमा लामाले जानकारी दिए। उपल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन्। त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट,पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकु लगायतका गाउँबस्तीहरुमा बिहानैदेखि वर्षात सुरु भएको छ। तल्लो डोल्पाका बलाङ्ग्रा, मुकोट,कागमारा लगायतका अग्ला भू–भागहरुमा बाग्लो हिँउ जमेको छ।