छुवाछुतको घटनामा मिलापत्र गरियाे

छुवाछुतको घटनामा मिलापत्र गरियाे

धनगढी, ५ जेठ ः कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ ।

साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गर्न गएका थिए ।

विकको परिवारले प्रयोग गर्ने गरेको कुवा छिमेकी गोपाल नेपालीको विवाहका दिन छोइदिएको भन्दै विक पक्षले सागरलाई कुटपिट गरेको स्थानीयवासी शंकर नेपालीले बताए ।

प्रहरी कार्यालयमा शुक्रबार दुबै पक्षको उपस्थितिमा पीडक भनिएका विक पक्षले अबदेखि यस्ता क्रियाकलाप नदोहो¥याउने प्रतिबद्धता जनाएपछि दुबै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरि वलीले बताए।

मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीले गाविसका पूर्व अध्यक्षकै कुवामा पानी भरेको विषयलाई लिएर कुटपिट र गालिगलौंच गरिनु गम्भीर घटना भएको भन्दै पीडकमाथि कारबाहीको माग गरेका थिए ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रयास गरेकोमा गाविसका पूर्व अध्यक्ष विकले राजनीतिक दवावमा मुद्दा दर्ता गर्न दिनबाट रोकेर माफी मागेको पीडित पक्षले बताएका छन् ।

देशमा थुप्रै पटक राजनीतिक परिवर्तन भए पनि कानूनी रुपमा दण्डनीय मानिएको जातीय छुवाछुत एवं विभेद्को समस्या प्रदेश नं ७ का जिल्लामा अझै पूर्णरुपमा अन्त्य हुनसकेको छैन । जसका कारण बेलाबखत दलित र गैरदलितबीच, दलित दलितबीच छुवाछुत र विभेद्का घटना हुने गरेका छन् ।

पछिल्लो समय गैर दलित र दलित बीचको छुवाछुत क्रमशःअन्त्य हुँदै गएको अवस्थामा दलित दलितभित्रैको बढ्दो छुवाछुतले थप चुनौती थपिएको धनगढी उपमहानगरपालिका —३ की दलित वडा सदस्य राधा विक बताउँछिन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.