८ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई लिएर किन बधाई नदिएको भन्ने बारे स्पष्ट पारेका छन् ।
पुटिनले कानुनी लडाइँको फैसला आउञ्जेलसम्म पर्खिने र त्यसपछि बाइडेनलाई बधाई दिने बताएका हुन् ।
रुसी टीभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिला हुँदा रुस र अमेरिकाको सम्बन्धमा कुनै कसर नपर्ने दाबी गरेका हुन् । यद्यपि यी दुई देशबीचको सम्बन्ध पहिलेदेखि नै तनावपूर्ण छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सधैँ नै भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आइरहेका छन् र ट्रम्पमाथि राष्ट्रपति बन्नका लागि रुसको मद्दत लिएको आरोप पनि छ ।
पुटिनले पछिल्लो पटक पनि सबैले हिलारी क्लिन्टनलाई बधाई दिएको तर जित भने ट्रम्पको भएको बताए ।
उनले अमेरिकी नागरिकले चुनेको जोसुकै राष्ट्रपतिसँग काम गर्न तयार रहेको तर मत गन्ने प्रक्रिया र घरेलु राजनीतिक सङ्घर्ष नथामिञ्जेल पर्खनु महत्त्वपूर्ण भएको बताए ।
अमेरिकामा गएको ३ नोभेम्बरमा चुनाव भएको थियो । चुनावी नतिजामा ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई विजेता घोषित गरिएको छ ।
चर ट्म्प यो मान्न तयार छैनन् । ट्म्प मत गन्दा धाँधली भएको दाबी गर्दै आइरहेका छन् । केही राज्यमा अझै पनि मत गन्ने काम भइरहेको छ ।
बाइडेनलाई ट्म्पभन्दा ६० लाख धेरै मत प्राप्त भएको छ । अमेरिकामा जितको लागि दुई सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ र बाइडेनले तीन सय ६ मत प्राप्त गरेका छन् । यसको बाबजुद पनि ट्म्प आफ्नो हार स्वीकार गरिरहेका छैनन् ।
जो बाइडेनलाई बधाई दिने विषयलाई लिएर रुसको छिमेकी चीनले पनि लामो समयसम्म पर्खिएको थियो तर चीनले अन्ततः १३ नोभेम्बरमा बाइडेनलाई बधाई दिएको थियो ।
पछिल्ला दिनमा अमेरिका र चीनबीचको सम्बन्ध पनि त्यति राम्रो छैन । बाइजेनलाई अझै पनि ब्राजिल, मेक्सिको र उत्तर कोरियाले बधाई दिइसकेको छैन ।