२० मंसिर, एजेन्सी ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि इटलीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ ।
प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षसहित महत्त्वपूर्ण चाडपर्व आएकाले महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए।
नयाँ वर्ष तथा क्रिसमस बिदामा लापरबाही बढेमा महामारी झन् फैलिन सक्ने प्रधानमन्त्री कोन्टेले बताए। नयाँ व्यवस्थाअनुसार भीडभाड, चहलपहल तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा मात्रै सीमित गरिनेछ ।
एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइनेछ । प्रतिबन्ध कार्यान्वयनका लागि सुरक्षाकर्मीहरु परिचालन गरिने खबरमा उल्लेख छ ।
नयाँ प्रतिबन्धात्मक व्यवस्था डिसेम्बर २१ अर्थात् पुस ६ देखि जनवरी ६ अर्थात् पुस २२ सम्म लागू हुनेछ । इटली कोरोना महामारी धेरै रहेको देशको आठौं स्थानमा छ ।
पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १६ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । ८ लाख ७२ हजार भने निको भएका छन् ।
