काठमाडौँ । आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा ५० सूचीकृत कम्पनीको लाभांश घोषणा भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को कारोबारमा आधारित भई सो संख्याका सूचीकृत कम्पनीले लाभांशको प्रस्ताव गरेका हुन् । यसरी लाभांश प्रस्ताव गर्नेमा १६ वटा सूचीकृत म्युचुअल फण्ड छन् भने बाँकी ३४ वटा सूचीकृत कम्पनी छन् । सूचीकृत कम्पनीमध्ये १३ वटा वाणिज्य बैङ्क, ११ वटा माइक्रोफाइनान्स कम्पनी, ६ वटा हाइड्रोपावर कम्पनी, ३ वटा उत्पादनमूलक कम्पनी र एउटा फाइनान्स कम्पनी रहेको छ । १३ वटा वाणिज्य बैङ्कले ८ प्रतिशतदेखि २० प्रतिशतसम्मको लाभांश घोषणा गरिएको छ । एनआईशी एशिया बैङ्कले २० प्रतिशत, हिमालयन बैङ्कको २० प्रतिशत, ग्लोबल आईएमई बैङ्कको १६ प्रतिशत, बैङ्क अफ काठमाण्डूको १६ प्रतिशत, कुमारी बैङ्कले १४ प्रतिशत, सानिमा बैङ्कको १३.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ११.८४ प्रतिशत, सिटिजन्स बैङ्कको ११ प्रतिशत, एभरेष्ट बैङ्कको १०.५३ प्रतिशत, माछापुच्छ्रे बैङ्कको १०.४ प्रतिशत, नेपाल एसबीआई बैङ्कको ९.४७ प्रतिशत र सनराइज बैङ्कको ८.२८ प्रतिशत लाभांश घोषणा भएको छ ।
त्यस्तै, ११ माइक्रोफाइनान्समध्ये वोमी माइक्रोफाइनान्सको २० प्रतिशत, छिमेक लघुवित्तको २९ प्रतिशत, समताको २६.३२ प्रतिशत, आरएमडीसीको २० प्रतिशत एनएमबिको २० प्रतिशत, मेरो माइक्रोफाइनान्सको १७.८३ प्रतिशत, आशाको १५.७९ प्रतिशत, स्वरोजगार लघुवित्तको १३.९७ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको १३.६८ प्रतिशत, मिर्मिरेको १२.६३ प्रतिशत र आरएसडीसीको १२.६३ प्रतिशत लाभांश दिने जनाएका छन् । हालसम्म लाभांश घोषणा गरेका हाइड्रोपावरहरुमध्ये चिलिमेले २० प्रतिशत, सानिमा माइले १५ प्रतिशत, अपिले ९ प्रतिशत, अरुणले ६ प्रतिशत, अरुण भ्यालीले ५.२६ प्रतिशत तथा रिडीले ५.२६ प्रतिशत लाभांश दिने जनाएका छन् । उत्पादनमूलक कम्पनीतर्फ हालसम्म युनिलिभर नेपालले १ सय प्रतिशत, शिवम् सिमेन्टले २४.२१ प्रतिशत तथा नेपाल ल्युव आयलले १० प्रतिशत लाभांश दिने भएको छ । फाइनान्स कम्पनीतर्फ हालसम्म एकमात्रै श्री इन्भेष्टमेन्टले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । यीबाहेक, विकास बैङ्क, जीवनबीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, व्यापारमूलक कम्पनी, होटल तथा अन्य समूहका कम्पनीहरुको लाभांश घोषणा भएको छैन । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुले भने अधिकतम १५ प्रतिशतदेखि न्यूनतम ४.२५ प्रतिशत नगद लाभांश दिइएको छ ।
सूचीकृत कम्पनीले लाभांश घोषणा गरे पनि साधारणसभा भएर लाभांश प्रस्ताव पारित हुन नसक्दा यसको वितरणमा भने अन्यौलता कायमै छ । लाभांश घोषणा भएका ५० कम्पनीमध्ये हालसम्म १६ म्युचुअल फण्ड र बाँकी २ कम्पनीले मात्रै लाभांश वितरण गर्न सकेका छन् ।