२८ मंसिर, डोटी । डोटीमा सात सय ९९ जना एचआईभी सङ्क्रमितले नियमित रुपमा एआरटी औषधि प्रयोग गर्न थालेका छन् ।
यसअघि एचआईभी सङ्क्रमितहरु रोग लुकाएर बस्ने गरेकामा पछिल्ला दिनमा परीक्षण र औषधिको प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको हो । परीक्षण गराउने बढे पनि एचआईभी सङ्क्रमित थपिने क्रम भने घटिरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०६४/६५ मा दुई सय २२ जना नयाँ सङ्क्रमित भेटिएकोमा गएको आर्थिक वर्ष २९ जनामा मात्रै सङ्क्रमण भेटिएको छ । डोटीमा अहिलेसम्म एचआईभी सङ्क्रमणबाट एक सय ७२ जनाको ज्यान गइसकेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआईभी सङ्क्रमितहरुमा कामका लागि भारत गएर फर्केका र उनीहरुका घरका सदस्यमा देखिएको छ । डोटी धेरै एचआईभी सङ्क्रमित भेटिएको सुदूरपश्चिम प्रदेशको तेस्रो जिल्ला हो ।
कैलाली र अछाममा एचआईभी सङ्क्रमित धेरै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरकारले एचआईभी सङ्क्रमितहरुका सवालमा केन्द्रीत रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमितहरु दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजकी अध्यक्ष कमलादेवी मल्लले बताइन् ।
जिल्लामा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआईभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए ।